नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला

बुढानीलकण्ठ,काठमाण्डौ

Nepal Flag
२०८२ फागुन २३ गते

सेवाहरु

नेपाल विश्व पशु स्वास्थ्य संगठन (OIE) र विश्व व्यापार संगठन (WTO) को सदस्यता लिएको अवस्थामा, सदस्य राष्ट्रले पालना गर्नुपर्ने शर्तहरूमध्ये आफ्नो कार्यक्षेत्र अन्तर्गत आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका र मापदण्डहरू अनिवार्य रूपमा लागू गर्नु पर्ने हुन्छ । नेपालको वर्तमान संघीय संरचना अनुसार वि.सं. २०७५/०३/३२ को निर्णय बमोजिम कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत रहेको साविक भेटेरिनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यालय लाई रूपान्तरण गरी हाल भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला नामकरण गरिएको छ ।
यस प्रयोगशालाले साविक कार्यालयबाट सम्पादन हुँदै आएका जिम्मेवारीहरू निरन्तरता दिँदै आएको छ । हाल उपलब्ध साधन–स्रोत, न्यूनतम पूर्वाधार तथा कार्यरत कर्मचारीहरूको अथक प्रयासबाट स्वीकृत वार्षिक कार्यक्रमअनुसारका जिम्मेवारीहरू पूरा गर्दै आएको छ ।

 

१. भेटेरिनरी गुणस्तर प्रयोगशाला शाखा

क) आयातित वा स्वदेशमा उत्पादन हुने भेटेरिनरी औषधी, जैविक पदार्थ, एन्टिजन, सिरम, डायग्नोष्टिक, खाद्य योगशील वा वृद्धिवर्द्धक पदार्थलगायतका औषधिजन्य वस्तुको गुणस्तर परीक्षण तथा विश्लेषण गर्ने ।
ख) गुणस्तर कायम राख्न आवश्यक प्रोटोकलहरू तयार गरी कार्यान्वयन गर्ने ।
ग) भेटेरिनरी गुणस्तर नियमन सम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने ।
घ) प्रचलित ऐन, नियमको पालना गर्न तथा गराउन आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने ।
ङ) पशुपन्छी तथा पशुजन्य उत्पादन र पशुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने औषधी, खोप, डायग्नोष्टिक तथा जैविक उत्पादन सामग्रीहरूको गुणस्तर कायम राख्न मापदण्ड तयार गर्ने ।

 

२. औषधी व्यवस्थापन शाखा

क) भेटेरिनरी औषधी, जैविक पदार्थ, खाद्य योगशील वा वृद्धिवर्द्धक पदार्थहरूको आयात, निर्यात तथा उपभोग सम्बन्धी नीति तर्जुमा गर्ने ।
ख) पशुपन्छीको रोगको निदान, उपचार वा रोकथामका लागि प्रयोग हुने तथा शारीरिक बनावट वा प्रकृतिमा प्रभाव पार्ने पशु औषधी, जैविक पदार्थ, खाद्य योगशील वा वृद्धिवर्द्धक पदार्थ उत्पादन गर्ने उद्योगहरू र तिनका उत्पादनहरूको नियमन गर्ने ।
ग) बुँदा (ख) मा उल्लेख गरिएका पदार्थहरू मापदण्डअनुरूप छन् कि छैनन् भनी नियमन तथा अनुगमन गर्ने ।
घ) भेटेरिनरी औषधी, जैविक पदार्थ, खाद्य योगशील वा वृद्धिवर्द्धक पदार्थहरूको उत्पादन, बिक्री–वितरण, आयात–निर्यात र नियमन गर्न सिफारिस तथा अनुमति पत्र प्रदान गर्ने ।

 

३. सांगठनिक संरचना र व्यवस्थापन

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाको व्यवस्थापन तथा अन्य कार्यालयका कामहरूको मुख्य जिम्मेवारी प्रमुख पशु चिकित्सकको हुनेछ । प्रमुख पशु चिकित्सकलाई कार्यालयमा कार्यरत अन्य अधिकृतहरू र प्राविधिक सहायकहरूले सहयोग गर्नेछन् । सांगठनिक संरचना अर्को पृष्ठमा उल्लेख गरिएको छ ।

 

नोटस्

१. यस कार्यालयमा लेखा फाँट र प्रशासन फाँट रहनुको साथै, औषधी व्यवस्थापन शाखा अन्तर्गत कोडिङ र डिकोडिङ इकाई तथा नमूना दर्ता इकाई रहनेछन् ।
२. सम्बन्धित फाँट तथा इकाईहरू आफ्ना रेकर्ड र रिपोर्ट कायम गर्न जिम्मेवार हुनेछन् ।
३. केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला, केन्द्रीय जैविक उत्पादन प्रयोगशाला, र रेबिज भ्याक्सिन उत्पादन प्रयोगशालाबाट नमूना परीक्षणको प्रकृति र आवश्यकता अनुसार कुनै पनि समयमा बिना रोकावट प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।